जापानमा युवाहरुलाई पनि कोरोनाको खोप लगाउन सुरु

 




वाकायामा, जापान ।

शनिवार वाकायामा प्रान्तको कितायमा गाउँमा उच्च विद्यालयका विद्यार्थीहरूले पनि कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।

६५ बर्ष माथिका वृद्ध बासिन्दाको लागि खोप छुट्याएपनि यहाँको स्थानिय सरकारले भने युवाहरुलाई पनि खोप लगाउन थालेको हो । सरकारले उपलब्ध गराएको खोपको मात्राले गाउँका सबै योग्य बासिन्दाहरूलाई दुई खुराक दिन पर्याप्त रहेकाले युवाहरुलाई पनि खोप दिन थालिएको अधिकारीहरुले बताएका छन् । यहाँको जनसंख्या केवल ४ सय ३२ रहेको छ ।

गाउँको एकमात्र क्लिनिकमा कोरोनाको खोप प्राप्त गर्ने १८ बर्षे हाई स्कूलका विद्यार्थीले समयमै खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्दै देशभरि खोपहरूको अभाव रहेकोमा चिन्ता व्यक्त गरे ।

अप्रिलको शुरुदेखि नै केन्द्र सरकारले कभिड १९ भ्याक्सिनको कम्तिमा एउटा बक्स देशभरका सबै नगरपालिकाहरूलाई वृद्ध बासिन्दाको खोपका लागि प्रदान गरेको छ । गाउँले मे २ मा एक ब्याच प्राप्त गरेको थियो जसबाट ९ सय ७५ डोज खोप पुग्ने थियो । खोप सबै जनसंख्याको लागि पुग्ने देखेपछि स्थानिय सरकारले सबै बासिन्दाको लागि खोप लगाएको हो ।

गाउँमा १६ बर्ष भन्दा माथिका ३१८ जना मात्र जनसंख्या रहेकाले अप्रिल यता प्राथमिकतामा बृद्धहरुलाई दिएर बाँकी युवाहरुलाई पनि लगाउन थालिएको हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कम जनसंख्या भएका नगरपालिकाहरूलाई योग्य बासिन्दालाई उमेरको परवाह नगरी खोपहरू लगाउन सक्ने अनुमति दिएको छ ।

गाउँले मे १० मा सबै योग्य बासिन्दाहरूलाई खोप लगाउन आउन सूचित गरेको छ । यसले एक दिनमा करीव ६० जनालाई खोप दिइरहेको छ । जुन ५ सम्ममा सबै गाउँलेलाई दुई मात्रा खोप दिइसकिने अधिकारीहरुले बताएका छन् । रोचक कुरा त के भने यो गाउँले खोपको लागि थप मात्रा पाउन कुर्नुपर्दैन बरु आफुले हाल प्राप्त गरेको मात्रा नै बढि हुने भएपछि त्यस पश्चात अन्य नगरपालिकाहरुलाई उपलब्ध गराउने भएको छ ।

खोपको एक बक्समा ९७५ डोज हुने गर्दछ । जसले अधिकतम ४८७ व्यक्तिलाई दुई खुराक दिन पर्याप्त हुन्छ । आवासिय दर्ताको आधारमा जापानको ९ वटा अन्य गाउँहरुमा पनि हाल उपलब्ध खोपको मात्रानै पर्याप्त हुनेछ । किनभने निगताको आवाशिमामुरा टापुमा रहेको गाउँले पनि आफ्ना १६ वर्ष उमेर पार गरेका सबै नागरिकलाई खोप लगाउन सुरुवात गरिसकेको छ । यहाँको जनसंख्या पनि ४८७ भन्दा कम रहेको छ ।


Comments