म्यानमार सेनाले रिहा गरेलगत्तै स्वदेश फर्किए जापानी पत्रकार

 





टोकियो, जापान ।

गलत समाचार फैलाएको आरोपमा म्यानमारमा कैद गरिएका स्वतन्त्र जापानी पत्रकार युकी किताजुमी जापान फर्किएका छन् ।

म्यानमारको सैनिक सरकारले रिहा गरे लगत्तै शुक्रबार किताजुमी जापान फर्किएका हुन् । हिरासत मुक्त भएकै दिन म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनको यांगुन अन्तर्राष्ट्रिय विमानस्थल छोडेका ४५ वर्षीय किताजुमी शुक्रवार राति नाहा हुँदै नारिता अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे थिए ।

'धेरै मानिसहरूले मलाई बचाउन काम गरे' किताजुमीले उनीहरूप्रति आभार व्यक्त गर्दै नरितामा पत्रकारहरूलाई भनेका छन् ।

जापानमा फर्कनु 'अत्यन्त अफसोसजनक' भएको बताउँदै उनले पत्रकारको हैसियतले यांगुनमा रहेको आफ्नो रिपोर्टिगं गतिविधिलाई निरन्तरता दिन चाहेको बताए । 'अबदेखि म जापान र अन्य धेरै देशका मानिसहरूलाई म्यानमारमा के हुँदैछ भनेर बताउन चाहन्छु' किताजुमीले भने ।

म्यानमारको सरकारी सञ्चार माध्यमले किताजुमीले सैनिक सरकारको विपरित अभियान र दंगामा भाग लिन आफ्नो जागिर छोडेका नागरिकलाई समर्थन गरेर कानूनको उल्लंघन गरेको बताएको छ । म्यानमारले जापानसँगको मित्रता र भावी सम्बन्धलाई ध्यान दिएर जापानी पत्रकारलाई रिहा गर्ने निर्णय गरेको समेत समाचारमा उल्लेख छ । रिहा गरिंदा किताजुमिमाथि लगाइएको आरोप खारेज गरिएको विश्वास गरिन्छ ।

किताजुमीलाई यांगुनमा उनको घरमा पक्राऊ गरिएको थियो र अप्रिल १८ मा शहरको जेलमा पठाइयो । उनलाई देशको आपराधिक नियम उल्लंघन गरेको आरोपमा अभियोग लगाइएको थियो, जुन नक्कली समाचार फैलाउने कार्यमा प्रतिबन्ध लगाएको थियो ।

किताजुमीले आफुलाई कुनैपनि स्वास्थ्य समस्या नरहेको बताएका छन् । यांगुनको जेलमा उनी एक कोठामा सीमित थिए । किताजुमीले थपे कि 'जेलमा उनीसँग नराम्रो व्यवहार गरिएको थिएन ।'

पहिले जापानी अखबारका प्रकाशक निक्केई ईंकका रिपोर्टर किताजुमीले फेब्रुअरीको सुरुमा सैनिक कु बिरूद्धको विरोध प्रदर्शनलाई समेटेर सोशल मिडिया र जापानी मिडियालाई समाचार तथा भिडियोहरु दिएका थिए । यसकै कारण उनलाई पक्राउ गरिएको थियो ।

 


Comments