- Get link
- X
- Other Apps
धनुषा – १६ वर्षको कलिलो उमेरमै जहाज चढेर मलेसिया पुग्नुभएका मनोज कुमार
दासले एकै पटक ८ वर्षपछि स्वदेशमा पाइला टेक्नुभयो । वषौंपछि देशमा पाइला टेक्दाको
खुसीमा मनमनै प्रण गर्नुभयो – ‘अब विदेश जाँदिन ।’
हातमा भएका अरू कागजात झोलामा राख्नुभयो । अनि पासपोर्ट चाहिँ विमानस्थलकै
एउटा फोहोरको भाँडोमा फ्याँक्नुभयो ।
‘फेरि विदेश नै नजाने भएपछि त्यो पासपोर्टको के काम,’ मनोजले विमानस्थलमै पासपोर्ट फाल्दाको त्यो
क्षण सम्झँदै भन्नुभयो,‘पासपोर्ट नै
फालेपछि अब त विदेश जान पर्दैन भन्ने लाग्यो, मन हल्का भयो
।’
हुन त पासपोर्ट रोजगारीका
विदेश जान मात्र काम लाग्ने कुरा होइन । साथमा पासपोर्ट भए जुनसुकै बेलामा पनि काम
लाग्छ । तर मनोजलाई आज पनि पासपोर्ट नै नभए पछि विदेश जाने मोह पनि जाग्दैन भन्ने
लाग्छ ।
बाँकी जीवन देशमै दुःखसुख
गर्ने अठोटले मनोज घरको आँगनमा पुग्नुभयो । तर समयले मानिसलाई कहिलेकाहीँ आफ्नो र
आफ्ना पनि बिरानो बनाउदोरहेछ ।
मनोज भन्नुहुन्छ, ‘८ वर्षपछि गाउँ
पुग्दा त मलाई गाउँका मानिसले चिनेनन्,
घर आँगन, र गाउँ नै अर्को
हुँदो रहेछ ।’
गाउँतिर हिँड्दा भेटिने
हरेकको प्रश्न हुन्थ्यो, ‘तिमी कसको छोरो ?’
मानिसका प्रश्न सुन्दा
मनोज भने आफैँसँग प्रश्न गर्नुहुन्थ्यो – ‘म साँच्चै अर्कै भए कि, गाउँ ठाउँ अर्को
भयो ?’
‘लुखुरे केटो देखेका मानिसले अहिले जवान देख्दा चिन्न गाह्रो
भयो होला जस्तो लाग्यो,‘मुस्कुराउँदै मनोजले भन्नुभयो,‘म मान्छे पनि त
ह्याण्डसम भएर आएको थिएँ नि ।’
बाहिरबाट हेर्दा र हेरेको
भरमा बनाएको चित्रभन्दा फरक छ एक श्रमिकका लागि परदेश ।
त्यसमाथि बुझ्दै नबुझी, जान्दै नजानी, कलिलै उमेरमा
परदेशीनेहरुको भोगाइ त अझ फरक छ । जुन भोगाइ मनोजको पनि छ ।
पढ्ने सपना छाडेर परदेश
किताब बोकेर १० कक्षा
पढ्न जान्थेँ मनोज । पढ्ने, ठुलो मान्छे बन्ने सपना कसले देख्दैनन् र ।
मनोज अपवाद हुन किन सक्थें र । उहाँको पनि सपना त्यही थियो । तर १० कक्षामा पढ्दै
गर्दा एउटा युवकले साँचेका सपनामा गाउँकै एजेण्ट र परदेशमा कमाइरहेकाहरूले विदेशमा
हुने कमाइको सपना मिसाइदिए ।
त्यसपछि त मनोजको सपनाको
बाटो मोडियो । जसोतसो पासपोर्ट बन्यो । पासपोर्ट बनेपछि खिरिलो ज्यान र उमेरले
रोक्न किन रोक्थ्यो र । मनोज पढाइ र पढेर ठुलो बन्ने सपनालाई गाउँमै छाडेर २०६९
सालमा मलेसिया पुग्नुभयो ।
विदेश जानुअघि घरकै
ओछयानमा बसेर झलझली परदेशको सपना देखे झैँ परदेश पुगेपछि देशमा छँदाका खुसी र
हाँसो उसै गरी सम्झनामा आउन थाले । साथीभाइ, आफन्त, गाउँ ठाउँ । यी
सबैको यादले औधी गलायो मनोजलाई । तर साहुको ऋण र परिवारको आशा बोकेर विदेश पुगेको
मानिसलाई गाउँघरकै सम्झनामा कमजोर हुने छुट् कहाँ हुन्छ र । उ त बलियो हुनुपर्छ ।
जतिसक्दो छिटो पैसा कमाउन पर्छ । साहुलाई बेलैमा ऋण तिर्नुपर्छ । परिवारका पनि आशा
र भरोसालाई पूरा गर्नुपर्छ ।
‘दुई चार महिनासम्म त अति गाह्रो हुने रहेछ, जति बेला पनि
घरमै फोन गर्न मन लाग्ने, परिवारभन्दा टाढा हुने बानी पार्न पनि गाह्रो
रहेछ,’ मनोज सम्झनुहुन्छ । तर भावनाले परदेशमा केही पनि हुँदैन
। लेबरको भिसामा गएको एउटा मानिसको
भावनाको कदर गर्ने पनि केही हुँदैनन् । काम गरे हातमा दाम र मुखमा माम लाग्छ । नभए
रित्तै हात फर्कनुपर्ने परिस्थिति पनि आउन सक्छ । तर मनोज कदापि त्यो क्षण आओस्
भन्ने चाहनुहुन्नथ्यो । जति सक्नुभयो डटेर लाग्नुभयो काममा ।
आठ वर्षअघि जम्मा ४४६
मलेसियन रिंगिट थियो तलब पनि । काम भने १२ घण्टा गर्नुपर्थ्यो । त्यति बेलै
मनोजलाई यहाँबाट फर्केपछि फेरि कहिले विदेश फर्किन्न भन्ने त लाग्थ्यो ।
१२ देखि १४ घण्टासम्म
खट्नुहुन्थ्यो । बिदा बस्नुभन्दा जति भए पनि काममा जाऊ र कमाइ गरौँ भन्ने धारणा
राख्नुभयो ।
मलेसियामा कमाएर पूरा
गर्ने राखेको उद्देश्यका लागि आठ वर्षसम्म मलेसियामा खट्नुभयो मनोज । मलेसियाकै
कमाइले घर बनाउनुभयो । घडेरी पनि जोड्नुभयो । ८ वर्ष पुगेपछि भने मनोजलाई लाग्यो, ‘अब पुग्यो ।’
जहाँ मन बस्दैन त्यहाँ मन
लगाउनु व्यर्थ हुन्छ । आफ्नो इच्छा कम्पनीमा राख्नुभयो । ८ वर्षदेखि घर नफर्किएका
मनोजलाई सहज रुपमा स्वदेश फर्कने वातावरण बन्यो । दुई वर्षअघि घर फर्कनुभयो ।
किराना पसलमा भुलेको मन
पासपोर्ट विमानस्थलमा
फलेर घर पुग्नुभएका मनोजलाई पैसा कमाउनकै लागि फेरि घरबाट टाढा हुन नपरोस् भन्ने
थियो । धनुषाको लक्ष्मीनिया रहेको घरैमा परिवारको साथमा बसेर गर्न सकिने काम निकै
कम मात्र थियो । त्यही कम मध्येमा पनि उहाँले आफ्नै घरको सटरमा पसल खोल्ने निर्णय
लिनुभयो ।
आफूसँग भएको रकम लगानी
गरेर किराना पसल खोल्नुभयो । आफ्नै घरमा खोलेको पसल भए पनि मज्जाले व्यापार हुन्छ
। मनोजलाई अहिले लाग्छ, व्यवसाय गर्न पनि जान्ने हो भने सहर या मुख्य
चोक नै नचाहिने रहेछ ।
घरपरिवारभन्दा टाढा रहेर
महिनाको ५० हजार कमाउनुभन्दा आजकाल मनोजलाई परिवारको साथैमा बसेर कमाएको २०÷२५ हजार रुपैयाँ
धेरै लाग्छ ।
‘विदेशमा त मात्र काम र कमाइ मात्र हुन्छ,’ मनोज भन्नुहुन्छ,‘त्यहाँ न माया
हुन्छ न सरसहयोग, त्यही पनि महिनाको कमाइ त्यही ५० हजार त हो, परिवार आफन्त र
आफ्नै ठाउँमा बसेर २० हजार कमाइन्छ भने पनि ठुलो कुरा रहेछ ।’
घर परिवारको साथमा रहेर
भएको कमाइमा खुसी हुनुहुन्छ मनोज । गरिरहेको कामलाई थप बढाउने उहाँको योजना छ । तर
लगानीको अभाव छ ।
‘यही अहिले गरिरहेको किराना पसललाई पनि बढाउन पाए हुन्थ्यो
भन्ने छ, तर लगानी कम छ, ऋण लिन पनि सजिलो रहेनछ, पासपोर्ट देखाउ
विदेश गएर आएको हो भने भन्छन्, अब पासपोर्ट त मैले फालिसके कहाँबाट देखाउनु,’ मनोज गुनासो
गर्नुहुन्छ ।
धनुषामा रहेको आप्रवासी
बहुउद्देश्यीय सहकारी र आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले अहिले
मनोजको योजना पूरा गर्न सहयोग गरिरहेको छ । सहकारीबाट त केही रकम ऋण लिएर उहाँले
पसलमा सामानहरू थप्नुभएको छ भने बैंकमार्फत सहुलियत ब्याजमा ऋण लिन पनि प्रयास
गरिरहनुभएको छ ।
भन्नुहुन्छ,‘अलिकति ऋण लिन
पाए, किन विदेशबाट फर्कँदा पासपोर्ट फालेछु भनेर पछुताउन पर्ने
थिएन ।’
- Get link
- X
- Other Apps

Comments
Post a Comment